रामपुरमा एकल महिलाका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना

तानसेन।  रामपुर नगरपालिकामा  एकल महिलाहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम  सम्पन्न भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिका भित्रका एकल महिलाहरुका लागि लैंगिक हिंसा र कानुनी व्यवस्था सम्बन्धी सचेतना प्रदान गरिएको हो ।

कार्यक्रममा समाजमा हुने हिंसा, यसको अवस्था, निम्त्याउन सक्ने दुर्घटना, यसको न्यूनीकरण , कानुनी उपचार लगायतका विषयमा सहजिकरण गरिएको थियो । सचेतना कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले एकल महिलाहरुलाई सामाजिक रुपबाटै हुने विभिन्न किसिमका हिंसाहरु चुनौतीको रुपमा रहेको उल्लेख गरे। यसका लागि हिंसाको कानुनी उपचार खोज्न आवश्यक रहेको बताए। उनले आफु एकल भए पनि विभिन्न सिप र उद्यमको माध्यमबाट आत्मनिर्भर बन्न आग्रह समेत गरे।   
उप- प्रमुख बाल कुमारी थापाले एकल महिलाहरुको हक अधिकार र समृद्धिका लागि एकल महिला दिदीबहिनीहरु एक भएर लाग्नु पर्ने बताउँदे एकल महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि रामपुर नगरपालिकाले नगरस्तरबाटै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले सीप विकासका तालिमसंगै सहयोग गर्ने उल्लेख गरिन् ।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सहजिकरण रामपुर नगरपालिका महिला बालबालिका शाखा प्रमुख पुजा परियार र एकद्वार संकट व्यवस्थापन केन्द्र रामपुरका फोकल पर्सन सरस्वती पौडेलले गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया