पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको आयोजनामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गरेका हुन । आजबाट सुरु भएको प्रतियोगीता २६ गतेसम्म तीन दिन चल्ने यस प्रतियोगिता रिब्दीकोट गाउँपालिका वडा नं. २ स्थित कोहल खेलमैदानमा सञ्चालन भइरहेको छ ।
उद्घाटन समारोहमा पालिका अध्यक्ष कार्कीले नवनिर्मित नयाँ कोहल खेलमैदानको पनि समुद्घाटन गरेका हुन । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले खेलले मानिसलाई अनुशासित र बौद्धिक बनाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने महत्वपूर्ण काम गर्ने बताए । अध्यक्ष कार्कीले खेलाडीहरूलाई खेल खेल्दा अनुशासित, मर्यादित र मेहनतका साथ खेल्न तथा विजय हासिल गर्न प्रेरित गरेका थिए ।
सोही अवसरमा अध्यक्ष कार्कीले खेल मैदान निर्माणमा सहयोग गर्ने महानुभावहरूको योगदानको प्रशंसा गरेका थिए । अध्यक्ष कार्कीले स्थानीयको सहयोगकै कारण अहिले यस मैदानमा खेल प्रतियोगीता सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

प्रतियोगिता उद्घाटन समारोहमा उपाध्यक्ष कान्ता अधिकारीले रिब्दीकोट गाउँपालिकाभित्रका खेलाडीहरुले जिल्ला तथा प्रदेश स्तरमा जित हासिल गर्नका लागि अनुशासित रुपमा खेल्नुपर्ने बताइन् । प्रतियोगीतामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल र निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सिले प्रतियोगीतामा खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको र खेलाडीहरु अनुशासित रुपमा खेल्नुपर्ने बताए ।

खेलमैदानमा ४ करोड बजेटमार्फत खेल मैदान निर्माण भएको हो । स्वास्थ्यका लागी खेलकुदस् राष्ट्रका लागी खेलकुद भन्ने नारासहित सुरु भएको प्रतियोगीतामा सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरू, पूर्व जनप्रतिनिधिहरू, कार्यालयका कर्मचारीहरू, सक्रिय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मीहरू लगायतको बाक्लो उपस्थितिले खेल मैदानमा चहलपहल ल्याएको थियो ।

प्रतियोगितामा पालिकाभित्रका १४ माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन समारोहमा सहभागी विद्यालयका शिक्षक र विद्यार्थी खेलाडीहरूले अतिथि एवम् दर्शकहरूलाई मार्च पास, स्वागत गीत तथा नृत्य प्रदर्शन गरी स्वागत गरेका थिए, जसले गर्दा कार्यक्रम सभ्य, भव्य र उत्साहजनक बनेको थियो ।
सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सञ्चालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गरेका थिए ।





















