तानसेन। रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामघाट धाममा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यका साथ नगरपालिकाले रामपुर–५ रामघाट धाममा स्कुल स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरी नगरपालिकाले बुधबार देखि स्कुल सञ्चालन गरेको हो । जेष्ठ नागरिक स्कुल शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता र नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । स्कुल संचालनकाे सुभारम्भ गर्दै नगर प्रमुख थापाले जेष्ठ नागरिकहरुको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उहाँहरुलाई सम्मान सहितको सक्रिय जीवन जिउने वातावरण निर्माण गर्न जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको बताए।
रोजगारीको शिलशिलामा सन्तानहरु परदेशमा हुँदा जेष्ठ नागरिकहरुको दैनिकीमा परेको समस्यालाई मध्यनजर गर्दै उहाँहरुमा खुशी ल्याउन जेष्ठ नागरिक स्कुलको अवधारणा अघि बढाएको नगरप्रमुख थापाले बताए । उनले भने, “सन्तानहरु रोजगारी तथा विभिन्न शिलशिलामा घर भन्दा बाहिर हुँदै गर्दा जेष्ठ नागरिकहरु निरस जीवन जिउनु पर्ने बाध्यता छ । आफ्ना दौतरी संग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कुल स्थापना गरेका हौं ।”
पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ । उनले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताउँदै जेष्ठ नागरिकहरुलाई धार्मिक प्रवचनसंगै फुर्सदको समयमा बात्ती काट्ने, दुना टपरी बनाउनेलगायतका वातावरण निर्माणसंगै बजारीकरणका लागि प्रबन्ध मिलाईएको छ । उपप्रमुख बालकुमारी थापाले ‘पुस्तान्तरण सिप, हस्तान्तरण केन्द्र’ भन्ने अवधारणका साथ स्कुलको सुरुवात गरिएको बताए।
जेष्ठ नागरिक स्कुल भित्र नगर भित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्था समेत मिलाइएको छ । प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटको समेत व्यवस्था गरेको बताउ। जेष्ठ नागरिकलाई आउन र जानका लागि बस सेवा समेत सञ्चालनमा ल्याएको जानकारी दिए। कार्यक्रममा रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले नयाँ पुस्तामा सीप पुस्तान्तरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकलाई उचित सम्मान प्राप्त नभैरहेको सन्दर्भमा पाठशाला स्थापनाले जेष्ठ नागरिकको उचित सम्मानमा महत्वपूर्ण टेवा दिएको बताए। स्कुल सञ्चालनमा सबैको साथ र सहयोग महत्वपूर्ण रहने बताए।
रामपुर नगरपालिका सल्लाहाकार विष्णु माया ढकालले सन्तान घर बाहिर हुँदा हुने पिडा भुलाउन स्कुलले सहयोग गर्ने बताइन । उनले नैतिक शिक्षा वर्तमान आवश्यकता भएको समेत बताइन।
जेष्ठ नागरिक स्कुलका लागि आवश्यक भौतिक संरचना निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकार एक करोड २६ लाख भन्दा बढी खर्च भएको व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिए। विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले पनि सहयोग गर्दै आउनु भएको उनले बताए ।
जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवास, जेष्ठ नागरिक केन्द्र र आचार्य निवास सहित तीन वटा भवन संगै प्रतिक्षालय निर्माण गरिएको छ । साथै परम्परागत सामग्रीहरु ढिँकी, जाँतो समेत निर्माण गरिएको छ । जेष्ठ नागरिक स्कुलमा तीन सय भन्दा बढी जेष्ठ नागरिकहरुले नाम दर्ता गरिसक्नु भएको जेष्ठ नागरिक संघ रामपुरका नगर अध्यक्ष कृष्ण प्रसाद अर्यालले जानकारी दिए।
स्कुल भित्र जेष्ठ नागरिकहरुलाई प्रवचन सुन्ने, भजन कृतन गर्ने, शारीरिक व्यायम, थेरापी, स्वास्थ्य परीक्षण, दिवा खाजाको समेत व्यवस्था गरिएको छ । साथै साँझमा सन्ध्या आरती समेत हुनेछ । जेष्ठ नागरिकहरुलाई आउन र जानका लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ । उपप्रमुख बालकुमारी थापाको स्वागत र योजना शाखा अधिकृत विक्रम बस्नेतको सञ्चालनमा भएको हो ।
कार्यक्रमको अवसरमा दार्शनिक गुरु योगी विकाशानन्द ज्यूले कार्यक्रममा उपस्थित जेष्ठ नागरिक, विद्यार्थीहरलाई प्रवचन समेत दिनु भएको थियो । कार्यक्रमको अवसरमा स्कुल स्थापनाको अवसरमा महत्वपूर्ण सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।





















