तानसेन। तानसेन नगरपालिकाको नगरसभाको १८ औं अधिवेशन सुरु भएको छ । बिहीबार पहिलाे बैठकबाट दुई ऐन पारित गर्दै नगरसभा सम्पन्न भएको छ । बैठकमा सभाकी उपाध्यक्ष प्रतिक्षा गाहा सिँजालीले नगरपलिकाको विनियोजन ऐन २०८२ को पहिलो संशोधन विधेयक सभामा पेश गरिन। उनले नगरपालिकाको साबिक विनियोजन एक अर्ब ४६ करोड ५० लाख ९६ हजार ८०७ रुपैया मध्ये एक अर्ब ३९ करोड ३१ लाख ८० हजार ३०७ रुपैया संशोधित विनियोजनका लागि नगर सभामा पेश गरिन।
त्यस्तै नगरसभा सदस्य तथा तानसेन नगरपालिका २ नं. वडाका वडाध्यक्ष महेश्वर श्रेष्ठले तानसेन नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरे।
तानसेन नगरपालिका क्षेत्र भित्र विज्ञापन करको व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक “विज्ञापन कर व्यवस्थापन तथा नियमन विधेयक,२०८२” वार्ड नम्बर ४ का वार्ड अध्यक्ष हेमन्तराज शाक्यले प्रस्तुत गरे। सभामा प्रस्तुत दुवै विधेयक सर्वसम्मत रूपले पारित भयो ।
नगर सभामा उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले चालु आर्थिक वर्षको हालसम्म सम्पादन भएको न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरिन।
सभाको शुन्य समयमा नगर सभा सदस्य माघब बस्यलले सभाका लागि छलपलको समय थोरै भएको र अघिल्ले दिन नै सम्पूर्ण जानकारी सभाका सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने, ल्याडफिल्डसाइट व्यवस्थापन गर्नुपर्ने जस्ता विषयमा सुझाव राखे ।
सभामा उठेका विषयमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जवाफ दिएका थिए ।



