रम्भाका सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

पाल्पा। रम्भा गाउँपालिकाको सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । रम्भा गाउँपालिकाको ५ वटै वडा र पालिकाको चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । पाल्पाका सबै स्थानीय तहहरुमध्ये यस आर्थिक वर्षमा रम्भा गाउँपालिकाले मात्र सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।

रम्भा गाउँपालिकाले यसभन्दा अघि १ नं. वडाको हुँगी, २ नं. वडाको फोक्सिङ्गकोट, ४ नं. वडाको हुमिन र ५ नं. वडाको ताहुँमा सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेको छ । शुक्रबार ३ नं. वडा पीपलडाँडा र गाउँपालिकाको सार्वजनिक सुनुवाइ पिपलडाँडामा सम्पन्न भएको हो ।

नागरिकका प्रश्न, सुझाव र गुनासो सुनेर सोही अनुसार नागरिकको चाहना बमोजिम गाउँपालिकाले योजना बनाएर कार्यान्वयन गर्ने उद्देश्यले सबै वडा र पालिकामा सार्वजनिक सुनुवाइ गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए। अध्यक्ष भण्डारीले नागरिकका प्रश्न, जिज्ञासा र सुझावले नै जनप्रतिनिधीलाई थप जवाफदेही बन्न सहयोग पुर्याउने बताए। उनले नागरिकका सुझावलाई गम्भीर रुपमा लिएको भन्दै प्रशासनीक भवन निर्माणको विषय टुंगिएको छ र अहिले तिव्र गतिमा निर्माण कार्य भइरहेको बताए।

प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर पुनले कर्मचारीको अभाव भएको, कर्मचारी भर्ना प्रक्रिया, घटनादर्ता नियमावली संशोधन, दुर्घटना बीमाको ढिलाई, वडा र गाउँपालिकाबीचको समन्वय लगायतका विषयमा आएका सुझावप्रति ध्यानाकर्षण भएको बताए। उनले सबै वडामा सञ्चालन भएको सार्वजनिक सुनुवाइमार्फत १०० बढी नागरिकले प्रत्यक्ष रुपमा प्रश्न, जिज्ञासा र सुझाव दिएको बताए।

सार्वजनिक सुनुवाइका कारण नागरिकको वास्तविक चाहना र सेवा प्रवाहको अन्तरसम्बन्ध बुझ्न मद्दत मिलेको उनले बताए। गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख पोष्टराज न्यौपानेले स्थानीय तहको स्थापनापछि २०८१ सम्मको बेरुजु २७ करोड ५० हजार रहेकोमा अहिले २ करोड ७५ लाखमा झरेको बताए। उनले चालु आर्थिक वर्षमा आन्तरिक राजश्व १ करोड ३८ लाख प्रक्षेपण गरेकोमा अहिले सम्म २० लाख ३० हजार उठेको बताए।

सार्वजनिक सुनुवाइमा रम्भा गाउँपालिकामा भेटिएको यार्सागुम्बाको गुणस्तर, सडक पुर्वाधार विकास, चेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिनुपर्ने, योजना सञ्चालन हुँदा निर्माण व्यवसायीहरुलाइृ मात्र फाईदा हुने, जन्मदर्ता फरक पर्दा विद्यार्थीलाई परेको समस्या, बसाईसराईको दर बढ्दा आउने समस्यामा पालिकाको धारण र रणनीति लगायतका विषयमा सुझाव प्राप्त भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुरज पाठकले जानकारी दिए ।

सार्वजनिक सुनुवाइृमा फोहोर व्यवस्थापन, कृषि क्षेत्रमा गाउँपालिकाको योजना, बजार अनुगमन, कृषि प्राविधिकहरु खेतबारी सम्म पुग्ने अवस्थाको निर्माण, शिक्षा क्षेत्रको गुणस्तर सुधार, आर्थिक पारदर्शिता, शुसासन, जवाफदेहिता लगाएतका विषयमा सुझाव प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

३ नं. वडाका वडाध्यक्ष थमन बहादुर गाहाले हरेक वर्ष एक एक काम गर्दै अघि बढ्ने भन्दै नागरिकको चाहना बमोजिम बजेट विनियोजन गर्न नसकेको बताए। हिउँदे सभामा रकमान्तर र शीर्षकान्तर गरेर नगरि नहुने योजनाहरु सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे। उनले टोल संस्थामा रुपान्तरण गरेर सोही अनुसारको योजना माग र संकलन गर्ने गरिएको बताए।

सार्वजनिक सुनुवाइमा राजनैतिक दल, विभिन्न संघसंस्था, विद्यालय, उपभोक्ता समूह लगायत सर्वसाधारण नागरिकहरुले प्रश्न, जिज्ञासा र सुझाव दिएका थिए । रम्भा गाउँपालिकाको आयोजना र सञ्चार मञ्च पाल्पाको सहजीकरणमा भएको सुनुवाइमा मञ्चको तर्फबाट माधव अर्याल र विजय वौडेलले सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको