काठमाडौं । हाल देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ। विशेषगरी लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा हावाहुरीसहित पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो जानकारी अनुसार एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आइतबार राति पनि कही स्थानमा या प्रणाली सक्रिय रहने बताइएको छ ।
मौसम प्रणाली पूर्वतर्फ सर्दै गइरहेकाले आगामी केही समयसम्म अन्य स्थानमा पनि मेघगर्जन, चट्याङ तथा असिना पर्न सक्ने सम्भावना रहेको हुँदा आवश्यक सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने क्षतिबाट जोगिन खुला स्थानमा बस्ने, अग्ला रुख तथा पोलको नजिक नबस्ने र सुरक्षित स्थानमा बस्न पनि आग्रह गरिएको छ।



