पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका र बागलुङ जिल्लाको बागलुङ नगरपालिकाबीच ‘असल अभ्यास आदानप्रदान एवं स्वागत कार्यक्रम’ बिहीबार सम्पन्न भएको छ। दुई स्थानीय तहबीच संस्थागत अनुभव साटासाट गर्ने उद्देश्यले रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय, खस्यौलीमा सो कार्यक्रम आयोजना गरिएको हो।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठसहित उपस्थित पाहुनालाई रिब्दीकोट गाउँपालिकाका तर्फबाट स्वागत तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले विशेषगरी कृषि, पशुपालन र पर्यटन प्रवर्द्धनका क्षेत्रमा रिब्दीकोटले गरेका उदाहरणीय कार्यहरूबाट सिक्नका लागि आफ्नो टोली यहाँ आएको बताए । उनले यी क्षेत्रको विकासका लागि रिब्दीकोट गाउँपालिका उत्कृष्ट गन्तव्य महसुस गरी छनौट गरिएको उल्लेख गरे।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष कार्कीले दुवै स्थानीय तहका असल अभ्यास एक अर्काले सिक्न र नागरिकमैत्री कार्यको अनुसरण गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने बताए। अध्यक्ष कार्कीले सफल योजना सिक्न र सिकाउनका लागि यस्ता भ्रमण फलदायी भएको अनुभव आफुले गरेको बताए ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष काम्ता अधिकारी दुवै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेश भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत रुक्लाल भट्टराईले गरेका थिए। दुई पालिकाबीचको यो समन्वयले स्थानीय सरकार सञ्चालन र विकासका आयोजनाहरूमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

