एसईईमा जिल्लामै प्रथम रेन्बो इङलिस स्कूलका विद्यार्थी सम्मानित  

गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सारस्थित रेन्बो इङलिस सेकेण्डरी बोर्डिङ स्कूलले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ मा निजी विद्यालयतर्फ जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका दुई विद्यार्थीले ४.०० जीपीए ल्याएपछि प्याब्सन गुल्मीले विशेष सम्मान गरेको हो ।

विद्यालयका विद्यार्थी आरुषा श्रेष्ठ र होमराज पन्थीले ४.०० जीपीए प्राप्त गर्दै जिल्लाका संस्थागत विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गरेका हुन् । विद्यालयले यस वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन समेत सफल भएको जनाएको छ ।

दुई जना विद्यार्थीले ४ जीपीए ल्याएपछि विद्यालयले ५० हजार नगदसहित सम्मान गरिएको विद्यालयका प्रिन्सिपल योजन खत्रीले बताए । यसवर्ष संस्थागत विद्यालय तर्फ यश विद्यालयले मात्रै ४ जीपीए ल्याएको हो ।

यस वर्षको एसईई परीक्षामा ५ वटा विद्यालयका ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्।  ४ जीपीए ल्याउने विद्यार्थीहरूमा सामुदायिक विद्यालयका महेन्द्र मावि तम्घासकी अस्मिता पाण्डे, रिडी मावि रिडीकी मर्यादा पौडेल, शारदा मावि दिगाम–चन्द्रकोटका रीतिका गौतम र  रेसुङ्गा मावि तम्घासकी दीक्षा पोखरेल रहेका छन्।

संस्थागत विद्यालयले उपलब्धिपछि प्याब्सन गुल्मीको टोली विद्यालयमै पुगेर विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो । सम्मान कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

विद्यालयले बधाई तथा शुभकामना ¥यालीसहित बलेटक्सार बजार परिक्रमा समेत गरेको थियो । सहभागीहरूले अबिर जात्रा गर्दै खुसी साटासाट गरेका थिए ।

कार्यक्रममा प्याब्सन गुल्मीका अध्यक्ष राजु कुँवरले गुल्मी जिल्लाका संस्थागत विद्यालयहरूले यस वर्षको एसईई नतिजामा ऐतिहासिक सफलता हासिल गरेको बताए । उनले रेन्बो इङलिस बोर्डिङ हाई स्कूल जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको उल्लेख गर्दै विद्यालय परिवार, शिक्षक, अभिभावक तथा विद्यार्थीलाई बधाई दिए ।

उनले जिल्लाका अन्य संस्थागत विद्यालयहरूले पनि उत्कृष्ट नतिजा ल्याएको उल्लेख गरे । रेसुङ्गा नगरपालिकाका आदर्श विद्या आश्रम इङ्लिस बोर्डिङ स्कुल र रिडर्स पब्लिक हाई स्कूल, चन्द्रकोट गाउँपालिकाको चक्रेश्वर इङ्लिस बोर्डिङ स्कुल शान्तिपुर तथा गुल्मीदरबार गाउँपालिकाको ग्रीन बोर्डिङ इङ्लिस बोर्डिङ स्कुल बिरबासले पनि शतप्रतिशत नतिजा हासिल गरेको अध्यक्ष कुँवरले बताए ।

अध्यक्ष कुँवरले संस्थागत विद्यालयबाट ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने घोषणा समेत गरेका छन् । उनले मेहनती विद्यार्थी, समर्पित शिक्षक र सचेत अभिभावकको संयुक्त प्रयासले यस्तो सफलता सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि प्याब्सन गुल्मीले विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।

उत्कृष्ट नतिजाले बलेटक्सारसहित समग्र गुल्मी जिल्लाकै शैक्षिक गरिमा उचालिएको रेन्बो इङलिस सेकेण्डरी बोर्डिङ स्कूलले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको