रिब्दीकोटमा वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण सम्पन्न, रमेश गौतमको अध्यक्षतामा आप्रवासी संजाल गठन

तानसेन। “स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने भए सहि सूचना र सीप सिकेर मात्र जाऔं” भन्ने मूल नाराका साथ पाल्पाको रिब्दीकोट गाउँपालिकामा वैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। रिब्दीकोट गाउँपालिका सामी कार्यक्रमको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि सो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले सामी कार्यक्रमको माध्ययमबाट सुरक्षित वैदेशिक राेजगारी र तथा श्रमकाे सम्मानमा टेवा पुग्ने विश्वास गरिएकाे बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष प्रकाश रायमाझी, र सामी कार्यक्रमका पाल्पा जिल्ला संयोजक दिनेश घिमिरे लगायतले कार्यक्रमको प्रभावकारीताका बारेमा भनाइ राखेका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति थियो। सो अवसरमा सामी कार्यक्रमका संयोजक घिमिरेले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई सुरक्षित रोजगारी, सीपको महत्व र स्वदेशमै स्वरोजगार बन्ने उपायहरूका बारेमा प्रशिक्षण दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रोजगार संयोजक दुर्गा पछाइले गरेकी थिइन् ।

९ सदस्यीय आप्रवासी संजाल गठनः
अभिमुखिकरण कार्यक्रमकै अवसरमा वैदेशिक रोजगारीबाट फर्किएका सहभागीहरू समेटेर एक समिति समेत गठन गरिएको छ। कार्यक्रममा उपस्थित सहभागीहरू मध्येबाट रमेश गौतमको अध्यक्षतामा ९ सदस्यीय आप्रवासी संजाल गठन गरिएको आयोजकले जनाएको छ।

यो संजालले आगामी दिनमा वैदेशिक रोजगारीबाट फर्किएकाहरूको हकहित र सूचना आदान-प्रदानमा समन्वय गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको