रामपुरले गर्याे स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो रामपुर’ सन्दर्भ सामग्री विमोचन

तानसेन।  पाल्पाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ ‘हाम्रो रामपुर’ नामक सन्दर्भ सामग्री विमोचन गरेको छ। नगरपालिकाले समग्र रामपुरको वस्तुस्थितिलाई समेटेर तयार पारेको उक्त सन्दर्भ सामग्री सोमबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो।

नगरपालिकाले विक्रम संवत २०८० सालमै कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि पर्याप्त शैक्षिक सामग्रीको अभावमा शिक्षण सिकाइ प्रभावकारी हुन सकेको थिएन। सोही समस्यालाई समाधान गर्दै शिक्षणमा एकरूपता ल्याउन यो सन्दर्भ सामग्री प्रकाशन गरिएको हो।

स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलका संयोजक देवराज देवकोटाका अनुसार यो सामग्री हचुवाका भरमा नभई यथार्थपरक ढङ्गले तयार पारिएको हो। कार्यदलले नगरका हरेक वडा र टोल-बस्तीमै पुगेर स्थानीयवासीहरूसँग सामूहिक छलफल र अन्तरक्रिया गरी वास्तविक तथ्यहरू सङ्कलन गरेको संयोजक देवकोटाले जानकारी दिए।

यस पुस्तकमा रामपुरको भौगोलिक, ऐतिहासिक तथा समसामयिक अवस्थाका साथै जातजाति, भाषा, संस्कार, संस्कृति, वन वातावरण र पर्यटन जस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन्। यसका साथै प्रत्येक वडाको वस्तुगत विवरण, प्रमुख पेसा, विकासका पूर्वाधार, आर्थिक क्रियाकलाप, धार्मिक स्थल तथा विपद् व्यवस्थापन जस्ता पक्षलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ।

सामग्री विमाेचन गर्दै नगर प्रमुख रमण बहादुर थापाले विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरू पढ्ने गरे पनि आफ्नै गाउँठाउँको बारेमा अनभिज्ञ रहने गरेको पाइएकाले यो सामग्री ल्याइएको बताए।  “हाम्रो उद्देश्य स्थानीय धर्म, संस्कृति, सीप र प्रविधिको संरक्षण गर्दै भावी पुस्तालाई आफ्नो पहिचानसँग जोड्नु हो,” नगर प्रमुख थापाले भने ।

उपप्रमुख बाल कुमारी थापाले यस सामग्रीले विद्यार्थीहरूको सिकाइ र स्थानीय विषयवस्तुको ज्ञानमा एकरूपता ल्याउने विश्वास व्यक्त गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले सामग्री उपलब्ध भएपछि शिक्षकहरूलाई कक्षा कोठामा अध्यापन गराउन सहज हुने उल्लेख गरे । शिक्षा अधिकृत विकल काफ्लेले सामग्रीको अभावमा शिक्षणमा देखिएको अन्योलता अब अन्त्य हुने बताए।

यो सन्दर्भ सामग्री अब रामपुर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म अनिवार्य रूपमा शिक्षण गराइने नगरपालिकाले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको