तानसेन। रिब्दीकोट -७ को प्रभात माविमा पोषण सुधारका लागि अभिभावक, विद्यार्थी लगायत सरोकारवालाहरू बीच सचेतना कार्यक्रम सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
पालिकामा पहिलो पटक सुरु भएको अभियानमा बालबालिकाहरूका लागि टिफिन बक्स र टोपी वितरण समेत गरिएको थियो । कार्यक्रममा बोल्दै ररिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आजका बालबालिका भोलिका कणदार भएको हुँदा शिक्षा र स्वास्थ्यसंगै जीवनशैली सुधार गर्न ध्यान दिनुपर्ने बताए ।
उनले पालिकाले विद्यार्थी र बालबालिकाको भविष्यप्रति चिन्ता र चासो दिएर सचेतनासंगै पोषणयुक्र विद्यालय तथा पालिका नै घोषणा गर्ने तयारी गरेको उल्लेख गरे । उनले खानपान र जीनवशैली सुधार गरेर शारीरिक र मानसिक समस्याबाट बच्नका लागि अभिभावक र विद्यार्थीलाई सुझाव समेत दिए ।
७ नम्बर वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कुवँरले विद्यार्थी र शिक्षक तथा अभिभावकले पनि खानपान र जीनवशैली सुधारका पक्षमा ध्यान दिन आग्रह गरे । स्थानीय स्तरमा हुने जंगफुडको व्यापरलाई कम गरी रैथाने खानाका परिकार खाने वतावारण मिलाउन सबैले सहकार्य गर्नुपर्ने उनले औल्याए ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले पालिकाले विशेष पहल गरेर यो कार्यक्रम सुरु गरेको उललेख गरे । उनले पछिल्लो समय खानपान र जीवनशैली परिवर्तन तथा मोबाइल पोनसहितका डिजिटल डिभाइसको प्रयोगले बालबालिकामा नकारात्मक असर पर्ने गरेको बताउँदै शिक्षाको गुणस्तर सुधारका लागि पनि यो अभियानले सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख राजाराम भाट तथा पोषण विद् विनोद ज्ञवालीले सहजीकरण गरेका थिए । कार्यक्रममा रिब्दीकोट गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं कार्यपालिका सदस्य सुनिल बस्याल, स्वास्थ्यकर्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षकहरू, अभिभावकहरू तथा विद्यार्थी लगायत सम्बन्धित सरोकारवाला पक्षहरूको बाक्लो उपस्थिति रहेको थियो।

विद्यालयकी शिक्षिका संगीता कुवँरले सञ्चालनमा सम्पन्न उक्त कार्यक्रम पोषण र स्वास्थ्यप्रति समुदायलाई जिम्मेवार बनाउन निकै प्रभावकारी देखिएको सहभागीहरूले बताएका छन्।






