जनतासँग माथागढी
पाल्पा । किताबी ज्ञान र सैद्धान्तिक पानामा मात्र सीमित नभएर विद्यार्थीहरू जब समाजका वास्तविक समस्या समाधान गर्न आफैं जुर्मुराउँछन्, तब शिक्षा साँच्चिकै जीवन्त बन्छ । पाल्पाको माथागढी गाउँपालिकामा हालै यस्तै एउटा फरक र उत्साहजनक दृश्य देखियो, जहाँ विद्यार्थीहरूले आफ्नो सामाजिक परियोजना कार्यको वृहत् प्रदर्शनी गरे । दिव्यज्योति माध्यमिक विद्यालयमा आयोजित सो विशेष प्रदर्शनीले विद्यार्थीहरू केवल भोलिका कर्णधार मात्र होइनन्, आजकै परिवर्तनका संवाहक हुन् भन्ने प्रमाणित गरिदिएको छ ।
कार्यक्रममा विद्यार्थीकाे रचनात्कता हेरेपछि गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले पालिकाले विगत तीन वर्षदेखि विभिन्न विद्यालयमा सामाजिक परियोजना कार्यक्रमका लागि विशेष बजेट विनियोजन गर्दै आएको खुलाए । सोही बजेट, अन्तरक्रिया र निरन्तरको छलफलकै जगमा आज विद्यार्थीहरूले समाजका विविध पाटो समेटेर तयार पारेका सिर्जनात्मक कार्यको प्रदर्शनी सम्भव भएको उनले स्पष्ट पारे ।

विद्यार्थीहरूले परियोजना कार्यमार्फत ‘पढ्दै र सिक्दै’ समुदायमा पुगेर बालविवाह न्यूनीकरण, फोहोरमैला व्यवस्थापन तथा अन्य सामाजिक विकृतिविरुद्ध चेतनामूलक काम गरेकोमा प्रशंसा गर्दै अध्यक्ष चिदीले विद्यालय र विद्यार्थी दुवैलाई धन्यवाद दिए । ब्रिटिश काउन्सिलसँगको सहकार्यमा शिक्षक र विद्यार्थीका लागि सञ्चालन गरिएका शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरूको सकारात्मक प्रभाव अहिले मैदानमै देखिन थालेको उनको दाबी छ ।
उक्त अवसरमा सामाजिक विकास समितिका संयोजक तेज बहादुर घर्ती मगरले विद्यार्थीहरूले गरेका प्रशंसनीय कार्यको प्रत्यक्ष अवलोकन गर्न पाउँदा अन्य मानिस तथा विद्यार्थीलाई समेत नयाँ कुरा सिक्न ठूलो मद्दत पुगेको बताए ।
त्यस्तै, सक्षम कार्यक्रमका फोकल पर्सन लोकेन्द्र थापाले यस्ता प्रदर्शनीले सिकाइलाई किताबमा मात्र सीमित नराखी सधैंका लागि दिगो र व्यावहारिक बनाउन सहज मार्ग प्रशस्त गर्ने धारणा राखे ।
गाउँ शिक्षा समितिका सदस्य कृष्ण प्रसाद खनालले प्रगति प्रतिवेदनसहितको यो प्रस्तुतिले सामाजिक सिकाइमा गम्भीर र सकारात्मक टेवा पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । गाउँपालिकाको शिक्षा शाखा प्रमुख प्रकाश पाठकले पालिकाले न्यून रकम उपलब्ध गराए पनि विद्यालय र विद्यार्थीहरूले सोचेभन्दा निकै उत्कृष्ट स्तरको परियोजना सम्पन्न गरेको भन्दै खुसी व्यक्त गरे ।
यस भव्य प्रदर्शनीमा आधारभूत र माध्यमिक तहका २५ भन्दा बढी विद्यार्थीहरूले आफूले समुदायमा सञ्चालन गरेका परियोजना कार्यका जीवन्त झलकहरू प्रस्तुत गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले आफैंले बुनेका बाँसका सामग्री, कुचो, विभिन्न शैक्षिक सामग्री, सडक नाटकका तस्बिर र चेतनामूलक पर्चा-पम्प्लेटहरू सजाएका थिए । सिद्धार्थ माध्यमिक विद्यालयकी छात्रा अनिशा थापाले विद्यालयमा पढ्दै र सिक्दै सामाजिक कार्यमा सहभागी हुन पाउँदा व्यावहारिक ज्ञानसँगै सीप विकासमा ठूलो मद्दत मिलेको अनुभव सुनाइन् । उनले समाजमा हराउँदै गएको परम्परागत सीप जस्तै बाँसको डोको र कुचो बुन्ने प्रविधि सिकेर प्लास्टिक न्यूनीकरण र वातावरण संरक्षण अभियानमा आफ्नो टोलीले इँटा थपेको बताइन् ।

शैक्षिक प्रदर्शनीको यो रौनकलाई अझ थप उचाइ दिन वडा नम्बर ३ को विशेष सहयोगमा एउटा फरक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । दिव्यज्योति माविका विद्यार्थीहरूकै व्यवस्थापनमा यो महोत्सव सम्भव भएको वडा अध्यक्ष तेज बहादुर घर्तीले रानीमहललाई जानकारी दिए ।
विद्यालयमा विभिन्न नमुना कार्यक्रमहरू सञ्चालन भइरहेकाले वडा कार्यालयले पनि विद्यालयको शैक्षिक र भौतिक विकासमा हरदम निरन्तर सहयोग गरिरहेको उनले बताए । परम्परागत सीपको जगेर्ना, सामाजिक चेतनाको विकास र खाना संस्कृतिको प्रवर्द्धनलाई एकैसाथ जोडेर माथागढीका विद्यालयहरूले सिकाईको एउटा उत्कृष्ट र उदाहरणीय नमुना प्रस्तुत गरेका छन् ।






