तानसेन। जन्मदर घट्दै जाँदा विद्यार्थी संख्या निरन्तर कम हुँदै गएको र सङ्घीय सरकारले पनि विद्यार्थी संख्या न्यून भएका विद्यालयको समायोजन तथा कक्षा घटुवाको नीति अघि बढाइरहेका बेला माथागढी गाउँपालिकाले विद्यालय समायोजन सम्बन्धी छलफल गरेको छ । विद्यालय व्यवस्थापन समिति (विव्यस)का पदाधिकारी र शिक्षकहरूसँग गाउँपालिकाले छलफल गरेको हो।
छलफलमा सहभागी विव्यसका पदाधिकारी तथा शिक्षकहरूले विद्यालय समायोजन गर्दा विद्यार्थीको सिकाइमा कुनै असर पर्न नहुने गरी आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले टाढाका बस्तीका बालबालिकालाई विद्यालय आउजाउ गर्न सहज हुने सडक पूर्वाधार निर्माण, आवश्यक स्थानमा छात्रावास सञ्चालन तथा विद्यालय बसको व्यवस्था गर्न गाउँपालिकासमक्ष सुझाव दिएका हुन् ।
गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुने अवस्था आउन नदिने गरी मात्र विद्यालय समायोजन र कक्षा घटुवासम्बन्धी निर्णय गरिने बताए ।
अध्यक्ष चिदीले अभिभावकसँगको छलफल, विद्यालयको वास्तविक अवस्था, भौगोलिक विकटता तथा स्थलगत अध्ययनपछि मात्र निर्णय लिइने स्पष्ट पारे । उनले सङ्घीय सरकारले विद्यार्थी संख्या कम भएका विद्यालयलाई समायोजन गर्ने नीति लिएकाले स्थानीय तहले पनि त्यसअनुसार आवश्यक तयारी गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै विद्यार्थीको पहुँच र गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल, गाउँपालिका प्रवक्ता शंकर दर्लामी, सामाजिक विकास समितिका संयोजक तेज घर्ती मगर, वरिष्ठ शाखा अधिकृत नित्यानन्द खनाल, दिव्य ज्योति माध्यमिक विद्यालयका विव्यस अध्यक्ष रेखीराम राना, शिक्षा समितिका सदस्य कृष्णप्रसाद खनाल, शिक्षा शाखा प्रमुख प्रकाश पाठकलगायतले विद्यालय समायोजन गर्दा स्थानीय आवश्यकता, विद्यार्थीको सहज पहुँच र गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका थिए ।
छलफलमा सहभागीहरूले विद्यालय समायोजनको उद्देश्य शिक्षाको गुणस्तर सुधार र उपलब्ध स्रोत–साधनको प्रभावकारी व्यवस्थापन भए पनि भौगोलिक विकटता र विद्यार्थीको दैनिक आवतजावतलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।






