तानसेन । रिब्दीकोट गाउँपालिका वडा नं. ४ सिलाङथोक निवासी पदम बहादुर पोखरेलको घरको पूर्वी पट्टिको भाग भत्किएपछि गाउँपालिकाले सहयाेग प्रदान गरेकाे छ। अविरल वर्षाका कारण घरको भाग भत्किएको जानकारी प्राप्त हुनासाथ रिब्दीकोट गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल र प्रशासकीय अधिकृत रुकलाल भट्टराईलगायतकाे टाेलीले स्थलगत अवलाेकन गरी सहयाेग प्रदान गरेका हुन् ।
घटनापछि पालिकाकाे टोलीले पीडित परिवारको घरमै पुगेर तत्काल संरक्षणका लागि २ थान त्रिपाल हस्तान्तरण गरेको हाे । यस्तै घरको निरीक्षणपछि गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तत्काल विपद् व्यवस्थापन समितिको बैठक बसी घरधनीलाई गाउँपालिकाको तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यस संकटको घडीमा गाउँपालिका नागरिकको साथमा रहेको र पीडित परिवारलाई आवश्यक अन्य राहत सामग्री पनि छिट्टै उपलब्ध गराइने उनले बताए।
यसका साथै अध्यक्ष कार्कीले रिब्दीकोटबासी सम्पूर्ण नागरिकहरूलाई यो बर्षातको समयमा विशेष सचेतना अपनाएर बस्न आग्रह गरे। वर्षाका कारण जुनसुकै बेला प्राकृतिक विपत्ति आउन सक्ने भएकाले कुनै पनि जोखिम आइ परेमा तत्काल नजिकको प्रहरी कार्यालय, वडा कार्यालय तथा गाउँपालिकामा सम्पर्क गर्न समेत उनले सम्पूर्ण नगरबासीमा आह्वान गरे।






