रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न: नारायण मावि प्रथम

पाल्पा । “स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तीन दिने कार्यक्रम सम्पन्न गर्दै आज भव्य रूपमा समापन भएको छ।

प्रतियोगितामा सहभागी १४ विद्यालयहरूमध्ये नारायण मा.वि. ढुस्तुङ, पाल्पाले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी, सरस्वती मा.वि. खस्यौली, पाल्पाले द्वितीय स्थान र श्री दुर्गा भवानी मा.वि. ढुस्तुङ, पाल्पाले तृतीय स्थान प्राप्त गरेका छन्।

विजय प्राप्त गर्ने विद्यालय तथा विद्यार्थी खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरेका थिए ।

प्रतियोगिता रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा रिब्दीकोट–२ कोहल खेलमैदानमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

अध्यक्ष कार्कीले सम्बोधनका क्रममा खेलकुदले २१औँ शताब्दीमा समाज र राष्ट्रको नाम उचाइमा पुर्‍याएको उल्लेख गर्दै खेलाडीहरूले एकआपसमा भातृत्व भावनाको विकास गर्ने बताए।

उनले खेलकुदले अनुशासित र शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक रूपमा मानव शरीरलाई स्वस्थ राख्ने भएकाले स्थान ओगट्न सफल खेलाडीहरूलाई अझै प्रगति गर्दै जान आह्वान गरे। साथै, उनले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे।

उपाध्यक्ष कान्ता अधिकारीले खेल जगतको बिस्तार र विकासमा गाउँपालिकाको सहयोग निरन्तर रहने कुरामा जोड दिइन्।

समापन कार्यक्रममा निर्धारित समयमै खेलमैदान निर्माण सम्पन्न गरेकोमा सम्बन्धित निर्माण व्यवसायीलाई गाउँपालिकाको तर्फबाट विशेष सम्मान प्रदान गरिएको छ। साथै, नवनिर्मित खेलमैदानलाई औपचारिक रूपमा खेलमैदान संरक्षण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कार्यालयका कर्मचारी, खेलकुद विकास समितिका पदाधिकारी, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी तथा सहभागी १४ विद्यालयका शिक्षक–विद्यार्थी खेलाडीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

समग्र ३ दिनको कार्यक्रम शिक्षा शाखा प्रमुख टिकाराम आचार्यको सञ्चालन एवं सहायक शिक्षा अधिकृत राजारम भाट, श्रोत व्यक्ति गोपाल के.सी. लगायत सम्बन्धित शिक्षक, स्वयंसेवक र सरोकारवालाहरूको सक्रिय सहयोगमा सभ्य, भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताए ।कार्यक्रमा 24 गतेदेखि सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer