
पाल्पा । पाल्पामा भारतबाट आएर आइसोलेशनमा उपचार गराईरहेका एकजना पुरुषको मृत्यु भएको छ ।
जिल्लाको पूर्वखोला गाउँपालिका वडा नम्बर १ सिलुवाका ४६ वर्षीय राम बहादुर दिशुवाको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
जेठ १८ गते भारतबाट आएका दिशुवालाई ज्वरो आउने, स्वाश फेर्न गाह्रो हुने सुख्खा खोकी लाग्ने जस्ता समस्या देखिएपछि सोमबार उपचारका लागि मिसन अस्पतालको आईसोलेशनमा राखिएको थियो ।
उनको मृत्युको कारण पत्ता नलागेको र मंगलबार मात्र उनको स्वाब परीक्षणणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाईएको न्यौपानेले जानकारी दिए ।
भारतबाट उनीसंगै आएका अन्य ४२ जना गाउँपालिकाले निर्माण गरेको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका छन् । कोरोना भाईरससंग मिल्दो जुल्दो लक्ष्यण देखिएपछि परीक्षणका लागि स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाईएको छ ।
स्वाब परीक्षणको रिपोर्ट नआएको हुदाँ क्वारेन्टाईनमा बसेकाहरु समेत त्रसित भएका छन् । स्थानीय र जनप्रतिनिधीको सहयोगमा मृतकको दाहासस्कार गर्ने तयारी भएको गाउँपालिका स्वास्थ्य संयाेजक मोहन ढकालले बताए ।
पाल्पामा हालसम्म ५ जना व्यक्तिमा कोरोना सक्रमण पुष्टि भएको छ । रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जना लाई कोरोना सक्रमण देखिएको हो ।
उनीहरू सबैलाई तानसेनको भुसलडाँडास्थित बृद्धा आश्रममा निर्माण गरिएको आइसोलेशनमा राखिएको छ ।
मंगलबार माथागढीका कोरोना सक्रमितको कन्ट्रयाक ट्रेसिङ्ग गरी २२ जनाको स्वाव परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
अन्य ४ संक्रमितको भने ट्रेसिङ्गको काम सुरु भएको छैन ।
यो पनि पढ्नुहोस् :
पाल्पामा थप दुईजनामा कोरोना पुष्टि, संक्रमित संख्या ५ पुग्यो