पाल्पा । अपहरण मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको रम्भा गाउँपालिका–४, हुमिन निवासी ५३ वर्षीय भेषबहादुर विक रहेका छन्।
उनीलाई कास्की जिल्ला अदालतले २०७१ सालमा अपहरण मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष ११ महिना ७ दिन कैद सजाय सुनाएको थियो। अदालतको फैसला पछि फरार रहेका विकलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार विकलाई तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर नजिकबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले पक्राउ पुष्टि गर्दै आवश्यक कारबाहीका लागि उनलाई जिल्ला अदालत पाल्पामा पेश गरिएको जानकारी दिएका छन्।




















